ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई
फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा
उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो ।
बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश
स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा
हेरिरहेको छ ।
सो मुद्दामा पूर्वमन्त्री सइद मोहम्मद केसरलाई
दोषी पाइएकोले फाँसीको सजाय सुनाइएको बङ्गलादेशको राजधानी ढाकाबाट प्राप्त समाचारमा
जनाइएको छ ।
समाचार अनुसार यसरी बङ्गलादेशमा मृत्युदण्ड
पाउने उनी १५ औं व्यक्ति हुन् । उनलाई मङ्गलबार नै अदालतले सो सजाय सुनाएको बताइएको
छ ।
उनीमाथि हत्या र बलात्कारको आरोप लागेको
थियो । सो आरोप पुष्टि भएपछि मङ्गलबार अदालतले सो सजाय सुनाएको हो । उनीमाथि कम्तीमा
पनि १५० व्यक्तिको हत्याको आरोप लगाइएको थियो ।
सो सजाय सुनाउने बेलामा उनीपनि अदालतमा
उपस्थित रहेका थिए । ७३ वर्षीय उनी ह्वील चियरमा अदालत पुगेका थिए ।
समाचारमा भनिएको छ– अदालतले सजाय सुनाउने बेला उनको कुनैपनि
प्रतिक्रिया आएन र उनले कुनै सङ्कत पनि गरेनन् ।
तर उनका वकिलले भने सो सजायप्रति पुनरावेदन
दिने बताएका छन् । उनले भने– यो न्यायपूर्ण छैन, हामी पुनरावेदनमा जानेछौँ ।
वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदको
सरकारले सन् २०११ मा सो अदालतको स्थापना गरेको थियो । युद्धका समयमा भएको अपराधको अनुसन्धानका
लागि भन्दै सो अदालतको स्थापना गरिएको हो ।
हाल सो अदालतले सो समयमा युद्धअपराध गर्ने
१०० भन्दा बढी व्यक्तिको मुद्दा हेरिरहेको छ । यसअघि नै १४ जना राजनीति नेतालाई फाँसीको
सजाय सुनाइ सकिएको छ ।
केसरले सो समयमा जातीय पार्टीं खोलेर पार्टीमा
सशस्त्र दस्ता पनि खडा गरेका थिए । उनले सो समयमा खडा गरेको सो दस्तामा सम्लग्न मिलिसियाले
नै हत्या गरेको पाइएको छ ।
उनको नेतृत्वका मिलिसियाले सन् १९७१ को
नोभेम्बर १५ मा भारतको सीमा नजिकै पर्ने ब्रम्हाबारिया भन्ने गाउँमा हमला गरी ती व्यक्तिको
हत्या गरेका थिए ।