साउनमै मेरो भ्यालेन्टाईन
Admin / 2014-07-23 01:03:06
काठमाडौं– दुई वर्षअघिकै भ्यालेन्टाइन्ड डेमा रिलिज गर्ने भनिएको फिल्म ‘मेरो भ्यालेन्टाइन' आउँदो साउन १६ मा रिलिज हुने भएको छ। फिल्म ढिलो हुनुको कारण निर्माता सुशील श्रेष्ठले प्रष्टसँग खुलाउन चाहेनन्। ‘प्राविधिक कारण थुप्रै छन्, पुराना घाउलाई नकोट्याउँ अब,' श्रेष्ठले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अरुको कारण र मेरै कारणले पनि फिल्म ढिलो भएको हो।' फिल्म लभस्टोरीमा आधारित भएकोले कहिल्यै पनि पुरानो नहुने तर्क उनले दिए।
सुरज सुब्बा नाल्बोद्वारा निर्देशित फिल्ममा बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, निशा अधिकारी र सुष्मिता ढकालको मुख्य अभिनय छ। पत्रकार सम्मेलनमा निर्देशक नाल्बोमात्र होइन अधिकांश कलाकार उपस्थित थिएनन्। कलाकारमा निशाको मात्र उपस्थिति थियो।
‘जतिसुकै खर्च भए पनि अनावश्यक दृश्यलाई फिल्मले लोभ गरेको छैन,' फिल्मलाई म्युजिकल लभस्टोरी बताउँदै निशाले भनिन्, ‘यसको कथा सुन्दै मलाई आशा जागेको थियो।'
फिल्म ‘नैना रेशम'मा आफूलाई ‘ढल्क्यो ढल्क्यो' गीतमा नृत्य सिकाउने गोविन्द राईलाई निशाले लक्की मान्छे बताइन्। निशाले ‘मेरो भ्यालेन्टाइन'मा समेत गोविन्दको कोरियोग्राफीमा नृत्य गरेकी छन्।
निर्देशक नाल्बोको उपस्थिति नरहेकोले मुख्य सहायक निर्देशक अराज केशवले फिल्मबारे जानकारी दिए। उनले फिल्मको रिलिज यही समयमा जुर्नुलाई संयोग माने। ‘दर्शक र फिल्मको भाग्य नै साउन १६ सँग जोडिएको छ कि, के थाहा?' उनले भने।
कार्यक्रममा श्रेया सोताङको स्वर रहेको गीतको भिडियो पनि देखाइयो, जसमा निशा र बाबुको अभिनय छ। फिल्मको शीर्षगीत ‘मेरो भ्यालेन्टाइन' प्राश्ना शाक्यले गाएर सुनाइन्।
प्रकाशित मिति: 2014-07-23 01:03:06
प्रतिक्रिया: