विश्व वातावरण दिवस आज देशभरी विभिन्न कार्यक्रम गरी मनाइदै
Admin / 2014-06-05 03:30:48
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ ।
आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । यस वर्ष नेपालमा विश्व वातावरण दिवसको सन्देश हिमाल बचाऔं, वातावरण जोगाऔं भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । पृथ्वीमा प्रदुषण बढ्दा प्रकृति र मानवबीचको सम्बन्धमै ठूलो असर परिरहेको छ । मानव जातिले वातावरण बिगार्दा पृथ्वीका अरु प्राणी पनि मारमा परिरहेका छन् ।
जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण पृथ्वीमा गंभीर समस्याहरु देखिन थालेका छन् ।
यसैबिच १५ औं राष्ट्रिय सरसफाइ सप्ताह आजबाट शुरु भएको छ ।‘खुला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ शहर तराई पहाड हिमाल’ भन्ने नाराका साथ विश्व वातावरण दिवसका अवसरमा सरसफाई सप्ताह पनि शुरु भएको हो ।
जेठ २८ गतेसम्म पानीका श्रोत, गाउँटोल सरसफाइ, खुला दिसामुक्त घोषणा, फोहोरको वर्गीकरण र व्यवस्थापन, संस्थागत निकायको सरसफाई लगायत विभिन्न जनचेतनामूलक कायक्रम हुँदैछ ।
सरसफाइको मुख्य पक्ष मानिएको खुला दिसा गर्ने कामलाई निरुत्साहित गरी सफा गाउँ र शहर निर्माण गर्नका लागि खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम भइरहेको छ ।
अहिलेसम्म १३ वटा जिल्ला पूर्ण रुपमा खुला दिसामुक्त घोषणा गरिएको छ । यस्तै विभिन्न नगरपालिका र गाविसहरुमा पनि शौचालय निर्माणलाई बढावा दिई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।
प्रकाशित मिति: 2014-06-05 03:30:48
प्रतिक्रिया: