काठमाडौ, भाद्र १९ - नेपाली राष्ट्रिय क्रिकेट टिमलाई श्रीलंकन क्रिकेट बोर्डले खेल्नका लागि बोलाउने निर्णय गरेको छ ।बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार एसियन क्रिकेट काउन्सिलको अनुरोधअनुसार श्रीलंकन क्रिकेट बोर्डले अफगानिस्तान, यूएई, नेपाल र हङकङलाई बोलाउने निर्णय गरेको छ।
विज्ञप्तिमा भ्रमणबारे अन्य
केही उल्लेख नगरे पनि क्यान स्रोतका अनुसार श्रीलंकन बोर्डले नेपाल क्रिकेट संघ
(क्यान) लाई उपयुक्त समय उल्लेख गरेर जानकारी दिन भनेको छ। तर, क्यानले जवाफ पठाएको छैन।
स्रोतका अनुसार नेपालले नोभेम्बरमा श्रीलंका भ्रमण गर्न सक्नेछ भने त्यसबेला
दुईवटा टु-डे र तीनवटा ५० ओभरको खेल खेल्न सक्नेछ। त्यस्तोमा प्रतिस्पर्धाका लागि
श्रीलंकाले आफ्नो 'ए' टिम अथवा डेभलपमेन्ट टिम
उपलब्ध गराउन सक्नेछ।
प्रमुख कार्यकारी छनोट शनिबार
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो नियमित कार्यसञ्चालनका लागि प्रमुख कार्यकारी
अधिकृत र लेखा व्यवस्थापनका लागि वित्तीय व्यवस्थापकको चयन शनिबार गर्ने भएको छ।
संघका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बुधबार प्रमुख कार्यकारीका लागि
अन्तिम छनोटमा परेका पाँच र वित्तीय व्यवस्थापकका लागि चारजनाको अन्तर्वार्ता
सम्पन्न भएको बताए।