नेपाल ब्युरो –जेठ २, काठमाडौ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रसङघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा तयार पारिएको सन् २०१४ को नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङघका सहायक महासचिव एवम् राष्ट्रसङघीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सार्वजनिक गनुभएको हो ।
भूगोल भन्दा पर मानव संभावना खोज्दै शीर्षकको सो प्रतिवेदनले सर्वसाधारणको सीप विकास, क्षेत्रीय एवम् समूहगत विभाजन घटाउँदै कृषि र युवामा भारी लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
सुदूर र मध्य पश्चिमका पहाडी भेग र पूर्वाञ्चलका पहाडी इलाकामा बसोबास गर्ने नेपालीमा प्रशस्त संभावना भएपनि शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा समान पहुँच नहुँदा सन्तुलित विकास हुन नसकेको प्रतिवेदनले जनाएको छ ।
युवा शक्तिले नेपालको आर्थिक विकासमा योगदान गर्न सक्ने प्रशस्त संभावना रहेकाले कृषि क्षेत्रको व्यावसायिकीकरण, महिला शिक्षा, सडकजस्ता पूर्वाधारमा पहुँच विस्तार अपरिहार्य भएको प्रतिवेदनले औंल्याएको छ ।