नयाँ संविधानमा धर्मनिरपेक्षता र संघीयतालाई अपरिवर्तनीय बनाउनुपर्छ : जनजाति
Admin / 2014-08-29 04:49:06
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
नयाँ संविधानमा धर्मनिरपेक्षता र संघीयतालाई अपरिवर्तनीय बनाउनुपर्नेमा जनजाति पार्टीहरुले जोड दिएका छन् ।
जनजाति पार्टीहरुले संघीयता र धर्म निरपेक्षतालाई नँया संविधानमा अपरिवर्तनीय प्रस्तावनामा राख्न माग गरेका छन् ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको आज बसेको बैठकमा साना दलहरुले प्रमुख दलहरुबीच भएको सहमति अस्वीकार भएको पनि बताएका छन् ।
कांग्रेस, एमाले, एकीकृत माओवादी सहितका प्रमुख दलहरुबीच बिहीबार मुलुकको भौगोलिक अखण्डता, सर्वभौमसत्ता र जनतामा निहित सार्वभौमसत्तालाई मात्र अपरिर्वतनीय धारामा राख्ने सहमति भएको थियो ।
बैठकमा साना दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीलाई पनि असंशोधनीय धारामा राख्न माग गरेका छन् । धर्मनिरपेक्षतालाई असंशोधनीयमा नराख्ने हो भने कुनै पनि बेला हिन्दु धर्म कायम गराउन सक्ने जनजाति पार्टीहरुको आशंका छ ।
समानुपातिक र समावेशी प्रणालीलाई पनि संविधानमा नै असंशोधनीय बनाउनुपर्ने उनीहरुको माग छ । तर बैठकमा सहभागी साना दलहरुबीच नै मतैक्यता थिएन । बैठकमा मधेसवादी दलका नेताहरु मौन बनेका थिए भने राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरु भने प्रशन्न मुद्धामा प्रस्तुत भएका थिए ।
बैठकमा जानुभएका खम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार खम्बु र समिति सभापति डा. बाबुराम भट्टराईबीच जुहारी नै चलेको थियो ।
जनजाति पार्टीहरुको कुरा सुनेपछि सभापति भट्टराईले संविधान निर्माणमा लचिलो हुनुपर्ने धारणा राख्नुभएको थियो । अरुको कुुरा नसुन्दा पटक पटक विद्रोह भएको भन्दै उहाँले सबैलाई समेटेर बढ्नुपर्ने बताउनु भयो ।
प्रकाशित मिति: 2014-08-29 04:49:06
प्रतिक्रिया: