नयाँ दिल्ली, श्रावण ६ - अफगानिस्तानको राजधानी काबुलको कसालास्थित एक क्याम्पमा भएको आत्मघाती बम प्रहारमा परेर एक नेपालीको घटनास्थलमैं मृत्यु भएको छ भने शख्त घाइते भएर उपचारमा लगिएका एक नेपालीको बाग्रामस्थित अमेरिकी बेस अस्पतालमा निधन भएको छ ।
काबुलस्थित नेपाली पत्रकार सुवेल भण्डारीले दिएको जानकारीमा मंगलबार बिहान साढे ६ बजेको घटनामा अफगान इन्टेलिजेन्स एजेन्सीको ड्रेस लगाएर अमेरिकी अधिकारीको बसोबास रहने गिब्सन क्याम्पमा छिरेका आक्रमणकारीले आत्मघाती बम प्रहार गरेका थिए ।
उक्त घटनामा दुइ भारतीय, एक केन्याली, दुइ फिजीका नागरिक र दुइ नेपालीको ज्यान गएको छ । क्याम्प सुरक्षामा खटिएको डाइनाकोर सेक्युरिटी कम्पनीमा कार्यरत मोरङ, पथरी-३ का गंगा लिम्बूको घटनास्थलमैं मृत्यु भएको छ भने बम प्रहारमा शख्त घाइते भएर उपचाररत चाबहिलका अनिल गुरुङको अस्पतालमा मंगलबार अपरान्ह निधन भएको छ ।
अर्का घाइते मेघ गुरुङ बाग्रामस्थित अस्पतालमा उपचारत छन् । यस घटनाबारे इश्लामाबादस्थित नेपाली दुतावासले पनि जानकारी पाइसकेको छ ।