सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षिय रणनितिक योजना आजदेखि लागु गर्ने
Admin / 2014-07-17 03:57:17
नेपाल ब्युरो–साउन १, काठमाडौँ ।
सर्वोच्च अदालतले आज साउन १ गते देखि लागु हुने गरि सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षिय रणनितिक योजना लागु गर्ने भएको छ ।
छिटो छरितो न्याय सबैको न्यायु भन्ने नारा सहित लागु हुने यो रणनितिक योजनालाई हिजो बुधवार बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले पारित गरेको हो ।
न्यायसम्पादन छिटोछरितो बनाउने, न्यायलाई अनुमान योग्य र पहुँच योग्य बनाउने अदालत प्रतिको आस्था र विश्वासलाई अभिवृद्धि गर्ने गरि ४ वटा मुख्य लक्ष सहित तेस्रो रणनितिक योजना लागु हुने सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताउनुभयो ।
तेस्रो पञ्चवर्षिय योजनाले गुणस्तरिय न्यायसेवा, प्रभावकारी सुनुवाई, समाजसंग अन्तक्रिया, वैतनिक वकिललाई पूर्णकालिन बनाउने, १८ महिनामा मुद्दा छिनिसक्ने जस्ता रणनितिहरु तय गरेको छ । न्यायाधीशहरुको पूर्णबैठकले भदौ २४,२५ र २६ गते न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय सम्मेलन गर्नका लागि पाँचवटा वरिष्ठ न्यायाधीशहरुको समिति समेत गठन गरेको छ। समितिमा, प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कि रहनुभएको छ ।
सम्मेलनमा न्यायालय भित्रका विभिन्न विषयहरुमा छलफलमा हुने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । हाल जिल्लामा १८० जना, पुनरावेदनमा १४० जना र सर्वोच्च अदालतमा १३ जना न्यायाधीशहरु कार्यरत छन् ।
प्रकाशित मिति: 2014-07-17 03:57:17
प्रतिक्रिया: