नेपाली राहदानी बङगलादेशमा छ्याप्छ्याप्ती
Admin / 2014-05-19 22:33:38
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं ।
नेपाली राहदानी बङगलादेशमा लगेर विक्री गर्ने नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ ।
ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा संलग्न संस्थाको आडमा १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७ वर्षीय कुमार पुरी र सङखुवासभाका ४३ वर्षीय पूर्णबहादुर मगरलाई पक्राउ गरेको तथा अर्का अभियुक्त देवीप्रसाद काङ्खले भने फरार रहेको जनाएको छ ।
ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले साउदी अरबस्थित एएल यामामा कम्पनीबाट केएल इम्प्लोइमेन्ट सभिर्सेस प्रालिको नाममा ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’मा १०० कामदार माग भई आएकामा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई २५ कामदारको राहदानी सङकलन गरी अभियुक्तले १४ थान बिक्री गरिसकेको अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।
पच्चीस थान राहदानी बिक्रीका लागि बङगलादेश पुर्याइएको भए पनि १४ थानमात्र रु २९ लाख ५० हजारमा बिक्री गरिएको र अन्य भने फिर्ता ल्याइएको थियो ।
विभिन्न खाडीमुलुकमा बङगलादेशी नागरिकलाई कामदारका रुपमा बन्देज लगाइएकाले उनीहरु नेपाली राहदानी प्रयोग गरी विदेशमा पुग्ने गरेको उहाले बताउनुभयो ।
कार्कीले यदि विदेशमा नेपाली राहदानी प्रयोग गर्ने गैर नेपालीको मृत्यु भएमा सनाखत गर्नसमेत समस्या हुने गरेको बताउदै राहदानी दुरुपयोग तथा बिक्रीसम्बन्धी मौजुदा राहदानी ऐन २०२४ ले व्यवस्था गरेअनुसार अपराधको परिभाषा र सजायलाई संशोधन गर्नुपर्ने औंल्याउनुभएको थियो ।
प्रकाशित मिति: 2014-05-19 22:33:38
प्रतिक्रिया: