टोक्यो।अन्तरिम संबिधानमा उल्लेख भैसकेको धर्मनिरापेक्ष, संघिय र समाबेशितालाई नयां बन्ने संबिधाना उल्लेख हुन नदिन गरिएको बिभिन्न खाले गतिबिधिको आदिबासी जनजाति महासंघ र जापानमा क्रियाशिल जातिय संस्थाहरुले कडा शब्दमा बिरोध गरेको छ। महासंघ र सरोकारवाला संस्थाहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै बिरोध गरेको हो।
जापानमा क्रियाशील महासंघको पहलमा विभिन्न जातीय संगठन र संघसंस्थाको तर्फबाट संयुक्त रुपमा जारी विज्ञप्तीमा मुलुकलाई प्रतिगमन तर्फ उन्मुख गराउन उद्दत बहुलवाद बिरोधी, सह अस्तित्वलाई स्वीकार नगर्ने, एकात्मकवादी प्रतिगमनकारी कार्यको खुलेर बिरोध गर्न सम्पूर्ण जापानवासी नेपालीहरुमा आग्रह गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा उल्लेखित प्रावधानहरु र आदिवासी जनजाति, मधेस, महिला, मुस्लिम, उत्पिडित वर्ग, जाति, लिंग र पिछडिएका क्षेत्रसँग बिगतमा राज्यद्वारा गरिएका लिखित सम्झौताहरुलाई संस्थागत गर्न र नेपालका प्रमुख अन्तरविरोध जातीय शोषण, वर्गीय दमन, लैंगिक विभेद, धार्मिक असमानता र क्षेत्रीय असन्तुलन जस्ता समस्याहरुको समाधान गर्नका लागि पहिचान सहितको संघीयता र समानुपातिक समावेशी संविधानका पक्षमा अन्तिम आन्दोलनको रुपमा नेपालमा आदारणीय मानव अधिकारवादी पदमरत्न तुलाधरको नेतृत्वमा गठन भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल अभियान सहित पहिचान सहितको संघीयताको लागि गरिने सबैखालको अभियानलाई ऐक्यबद्धता जाहेर गर्दछ ।’
विज्ञप्तीको पूर्ण पाठ
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संविधानमा उल्लेख भईसकेका नयाँ संविधानमा बूँदागत गर्ने तरखरमा लागिरहेको आजको दिनमा आदिवासी जनजाति, मधेस, महिला, मूस्लिम, उत्पिडितवर्ग, जाति, लिंग तथा समस्त नेपालीहरुको लागि उठाइएको समावेशी, समानुपातिक तथा सांस्कृतिक, धार्मिक सबै कुरामा समान हक र अधिकारको मुद्दालाई ओझेलमा पार्ने गरी बहुलवाद बिरोधी, प्रतिगमनकारी सोच भएका केहि व्यक्ति र संगठनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि नेपाल र हाल जापानमा समेत संघियता र समावेशी पक्षधरको बिरोधमा केहि व्यक्तिहरुले हस्ताक्षर संकलन गरी धर्मनिरपेक्ष नेपालको संविधानको खिल्ली उडाउने किसिमले पाईला चालेको कुराप्रति आदिवासी जनजाति महासंघ जापानको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कुराले नेपाललाई अग्रगामी, विकासोन्मूख नभई एकै जाति, एकै धर्मको निरंकुश शासनतिर धकेल्नेछ । बहुधार्मिक, बहुजातीय, बहुभाषीय र बहु-सांस्कृतिक मुलुक नेपालमा कुनै पनि हालतमा धर्मको पक्ष वा विपक्षको कुरो स्वीकार्य छैन । भोलि देशमा स्थापित हुनसक्ने धार्मिक द्वन्दलाई रोक्नका लागि सबै धर्म र संस्कृतिको सम्मान र संरक्षण गर्दै धर्म निरपेक्ष राज्यलाई यथावत कायम राख्नु आजको परिस्थिति र आवश्यकता हो । सबैलाई आ–आफ्नो सनातन धर्म, संस्कृति र परम्परा मान्ने स्वतन्त्रता रहनेछ । तर कसैले कसैको धर्मको निन्दा वा घृणा गर्ने, प्रलोभन वा दवाबमा पारी राज्यलाई धर्मको नाममा परिवर्तन गर्न गराउन कुनै पनि स्थितिमा पाइने छैन । धर्म निरपेक्षताको अर्थ कसैको धार्मिक भावनामा चोट पुर्याउन वा परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथिको अतिक्रमण होइन र अन्य कसैप्रति पक्षपात पनि होइन । निरपेक्षता भनेको राज्य तथा कुनै पनि समुदायको तर्फबाट पक्षपात नगरिनु हो । प्रजातान्त्रिक तथा समावेशी, स्थानिय स्वायत्तशासनको व्यवस्था भएको जापान जस्तो मुलुकमा बसोबास गर्ने एकै नेपालका सन्तान हामी आदिवासी-जनजातिलाई दोश्रो दर्जाको नागरिक बनाउने कुनै किसिमको कदम कदापि स्वीकार्य हुने छैन। मुलुकलाई प्रतिगमन तर्फ उन्मुख गराउन उद्दत यस्ता बहुलवाद बिरोधी, सह अस्तित्वलाई स्वीकार नगर्ने, एकात्मकवादी प्रतिगमनकारी कार्यको खुलेर बिरोध गर्न सम्पूर्ण जापानवासी नेपालीहरुमा आग्रह गरिन्छ। साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा उल्लेखित प्रावधानहरु र आदिवासी जनजाति, मधेस, महिला, मूस्लिम, उत्पिडितवर्ग, जाति, लिंग र पिछडिएका क्षेत्र सँग बिगतमा राज्यद्वारा गरिएका लिखित सम्झौताहरुलाई संस्थागत गर्न र नेपालका प्रमुख अन्तरबिरोध जातिय शोषण, वर्गीय दमन, लैंगिक विभेद, धार्मिक असमानता र क्षेत्रिय असन्तुलन जस्ता समस्याहरुको समाधान गर्नका लागि पहिचान सहितको संघियता र समानुपातिक समावेशी संविधानका पक्षमा अन्तिम आन्दोलनको रुपमा नेपालमा आदारणिय मानव अधिकारवादी श्री पदमरत्न तुलाधरको नेतृत्वमा गठन भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल अभियान सहित पहिचान सहितको संघियताको लागि गरिने सबैखालको अभियानलाई ऐक्यबद्दता जाहेर गर्दछ ।
भवदियः मान बहादुर पुन/अध्यक्ष
कान्छा शेर्पा/महा-सचिब
पासाङ शेर्पा/सह-अध्यक्ष
शैलेन्द्र बिक्रम थापा मगर/सचिब नेपाल आदिवासी जनजाति महासंघ जापान
सदस्य संगठन तथा प्रतिनिधिहरु :
१) किरांत याक्थुङ चुम्लुङ जापान (लिम्बुवान), अध्यक्ष – देविबहादुर ईङ्नाम
२) तमुधिं जापान, अध्यक्ष – भिम गुरुङ
३) नेपाल तामाङ समाज जापान, अध्यक्ष – सुकुमान थिङ तामाङ
४) थकाली सेवा समिति जापान, अध्यक्ष – बुद्दि गौचन
५) नेवा अन्तराष्ट्रिय फोरम जापान, अध्यक्ष – बिगेन्द्र मान सिंह प्रधान
६) नेवा जगरण मंच जापान, अध्यक्ष – सुनिल कुमार शाक्य
७) मगर संघ जापान, अध्यक्ष – थानु बहादुर राना मगर
८) मनाङ सोसाइटी जापान, अध्यक्ष – पेम्बा लामा
९) शेर्पा संघ, जापान, अध्यक्ष – ल्हाक्पा गेलु शेर्पा