टोकियो,जापान।
जापानमा रहेका तामाङ समुदायले आज टोकियोमा
विविध साँगीतिक कार्यक्रमका साथ २८५१ औं सोनाम ल्होछार मनाएका छन। नेपाल तामाङ समाज
जापान केन्द्रिय समितिको आयोजनामा भएको ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु
लोक गायिका इन्दिरा गोले र युवा गायक तथा
संगीतकार बिशाल काल्तानको साँगीतिक प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।
जापानको चिसोचिसो मौसमलाई कलाकारहरुको आकर्षक
साँगीतिक प्रस्तुतिले माहौल गर्मागर्मी बनाउनुका साथै उपस्थित दर्शकहरुलाई छमछमी नचाएको
थियो।
कार्यक्रममा लोकगायिका इन्दिराले फ्याफुल्ला
तामाङ गीत, ए होई ज्यानै खायो तिम्रो मायाले, जोवान मेरो अल्लारे हाम्रो प्रीतिको हल्लाले
लगायतका आफ्ना आधा दर्जन बढी चर्चित गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन।
दर्शकहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा इन्दिराले आफु जापानमा नभई नेपालमा भएको
भान भएको बताएकी थिईन। तामाङ युवायुवतीहरुलाई तामाङ सेलोमा नचाउदै गरेकी उनले ल्होसारको
अवसरमा जापानबासी सम्पुर्ण नेपालीहरुमा समेत ल्होसारको शुभकामना व्यक्त गरेकी थिईन।
त्यस्तै युवा गायक बिशालले पनि आधा दर्जन
जति गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए। दर्शकबाट लगातार वान्समोरको माग आएपनि
उनले समयको अभाव भन्दै मादलै बज्यो झ्याउरेको, ङा खाबा
ह्यार्सी, गादे जेवा जामेकोद, मैनामैना लगायतका तामाङ भाषाका गीतहरु पनि
गाएका थिए।
नागोयाबाट आएका कर्म दोङ तामाङ र
स्थानिय कलाकारहरु सुर्य खड्का,पुर्ण सिं तामाङ,शितल योञ्जन, राजेन्द्र लामा,बिकास
राई,आर के लामा लगायतले गीत प्रस्तुत गरेका थिए भने मालती लामा,लिला नापित,सम्झाना
लामा,टासी लामा लगायतले नृत्य प्रस्तुत गरेका थिए।स्थानीय कलाकारहरु प्रस्तुतीले उपस्थित
युवायुवती दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो।
प्रमुख अतिथिका आसनबाट बोल्दै जापानका लागि
नेपाली राजदूत डा. मदनकुमार भट्टराईले सोनाम ल्होसारको उपलक्ष्यमा हार्दिक शुभकामना
ब्यक्त गर्दै छिटो भन्दा छिटो एमआरपी राहदानी बनाउन जापानबासी नेपालीहरुलाई आग्रह गरे।
औपचारिक कार्यक्रमको अन्तमा आयोजक संस्थाका
अध्यक्ष एवं समारोहका सभापति सुकुमान थिङ तामाङले ल्होसारको शुभकामना ब्यक्त गर्दै
कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रम संयोजक सञ्जिव स्याङतानको स्वागत
मन्तब्य रहेको सो ल्होसार कार्यक्रमलाई शिक्षा शान्ति वाईबा र कुमार मोक्तानले सञ्चालन
गरेका थिए।